सन्दर्भ विश्व सुर्तिरहित दिवस!!!
डा. अरुण कुमार सिंह

बालरोग विशेषज्ञ
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान!
परिचय
‘विश्व सुर्तिरहित दिवस’ ३१ मे २०१६ का दिन अर्थात् आज मनाइँदैछ ।यस वर्ष २०१७ को नारा भने सुर्तीः विकासको वाधक भन्ने रहेको छ । ‘Tobacco: a threat to development’ अर्थात् ‘सूर्तीः विकासको ठूलो खतरा हो!

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सदस्य राष्ट्रको संलग्नतामा सन् १९८७ देखि यो दिवस मनाउन थालिएको हो । संसारभर हरेक मिनेट १ करोड चुरोट बिक्री हुन्छ भने हरेक दिन १५ अरब भन्दा बढि कुल बिक्दछ । हरेक ८ सेकेन्डमा एकजनाको मृत्यू सूर्ती सेवनका कारणले हुनेगर्दछ भने हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यू संसारभरि चुरोट सेवनकै कारणले हुनेगर्दछ । यस्तै क्रम चलिरहने हो भने सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्य १ जना मान्छेको मृत्यू गराउने -विश्वब्यापी तथ्याङ्कगत पूर्वानुमान गरिन्छ ।
सुर्ती जलनबाट उत्पादित धुवामा के हुन्छ ?
सुर्ती जलाउँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने तत्व निस्किने धुँवामा ४ हजार र सुर्तीका पातमा ७ हजार पाइन्छन् । यीमध्ये ५० वटा क्यान्सर रोगका लागि जिम्मेवार छन् । सुर्तीको धुँवामा पाइने टार, पोली–न्युक्लिएर अरोमेटिक हाइड्रोकार्बन, बिटा नेप्थाइलिन, एन–नाइट्रोसोनो र निकोटिन बेन्जोपाइरिन, निकिल, आर्सेनिक, पोलोनियम–२१० नाइट्रोसामाइन, हाइड्राजिन, भिनाइलक्लोराइडजस्ता सुर्तीको धुवाँमा पाइने तत्व क्यान्सरका मुख्य कारक हुन् भने फिनोल, क्रिसोल, क्यारेकोल इन्डोल र कार्बाजोलजस्ता पदार्थ क्यान्सर गराउने सहयोगी तत्व मानिन्छन् ।
धुँवामा पाइने कार्बन–मोनोअक्साइड, हाइड्रोजन साइनाइड, अमोनिया, बिटाडिन, बेन्जिन, क्याडमियमजस्ता तत्व पनि मुटु तथा रक्तसञ्चार, स्नायु तथा नाडी, पेट तथा रगतका रोग उत्पन्न गर्ने तत्व हुन् । सुर्ती तथा सुर्तीको जलनबाट उत्पादित धँुवामा पाइने ल्युकिमिया गराउने बेन्जिन, फोक्सोको क्यान्सर गराउने रेडियोएक्टिब पोलेनियम–२१० भन्दा बढी अत्यन्त हानिकारक तत्व हुन्छ ।
धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले के हुन्छ ?
धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने मान्छेले प्रत्येक हप्ता एक दिन बराबरको आयु घटाइरहेको हुन्छ । मुख, गिँजा, श्वासनली, दाँत तथा फोक्सोको क्यान्सर, ल्युकेमिया (रगतको क्यान्सर), पेट, मृगौला, प्याङ्क्रियाज, ठूलो आन्द्रा, मुत्रथैली र पाठेघरको क्यान्सरको सम्भावना हुन्छ । त्यस्तै मुटु तथा रक्तनलीसँग सम्बन्धित रोग, स्ट्रोक प्यारालाइसिस, अन्धोपन, गिँजा सुन्निने, दम–खोकी, न्युमोनिया, सिओपिडी, रक्तनली साँघुरिने, स्नायु तन्तुको क्षय, श्वास प्रणालीका दीर्घरोग, हड्डी खिइने र भाँच्चिने, नपुङ्सकता र बाँझोपन बढ्ने, थकान, अनिद्रा, अपच, मानसिक असुन्तलनजस्ता रोगको खतरा बढेर जान्छ । गर्भवतीले धूमपान गरेमा अपाङ्ग तथा मृत, प्रिटर्म बच्चा जन्मने सम्भावना रहन्छ ।
धूमपान र सुर्तीजन्य पदार्थ त्याग्न के गर्ने ?
धूमपान र सुर्तीजन्य पदार्थ त्यागेर स्वथ्य जीवन बाँच्ने चाहना सबैको हुन्छ तर नशामुक्त हुन धेरै व्यक्ति असफल छन् । यसका लागि दृढ सङ्कल्पको आवश्यकता पर्छ । यस्ता पदार्थलाई छोड्दा धेरैलाई छट्पटी लाग्ने, औडाहा हुने, टाउको दुख्ने, काम छुट्ने, चक्कर लाग्ने, छाती तथा पेटमा भारीपन बढ्ने, निद्रा नपर्ने, टोलाउने, स्मृतिको क्षमतामा ह्रास आउने र व्यावहारिक भ्रष्टताका लक्षण देखा पर्छ ।
धूमपान र सुर्तीजन्य पदार्थ कसरी रोक्ने ?
सुर्तीजन्य पदार्थको उत्पादन तथा बेचबिखनमा कडाइ गर्नैपर्छ र यी पदार्थको उपलब्धतालाई कठिन बनाउनुपर्छ । बेचबिखन गर्न साधारण प्याकिङ गर्नुपर्ने, विज्ञापनमा रोक लगाउनुपर्ने र परेको खण्डमा अत्यन्त धेरै कर लगाएर बेच्नुपर्छ, ताकि यसको सेवनले हुने मृत्यु र रोग दुवैलाई कम गराउन सकियोस् ।
धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने हरेक अभिभावकले विश्व सुर्तिरहित दिवसको दिन वाचा गरौँ– आफ्नो बालबालिकालाई धूमपानको धुँवाबाट हुने नोक्सानबाट समयमै बचाउँ । यसतफ सर्वसाधारण र सरकारको ध्यान जानु आजको आवश्यकता हो ।
(लेखक डा.अरुणकुमार सिंह धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ हुन् ।)